२८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गड्यौला मल उत्पादन गर्ने उदेश्यका साथ सहकारीद्वारा गड्यौला पालन शुरु गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ देविडाँडामा रहेको युथ भिजन बहुउद्देश्यीय सहकारी संस्थाले ब्यवसायिक गड्यौला मल उत्पादन गर्ने उदेश्यले गड्यौला पाल्न शुरु गरेको हो । कौसी खेती लगायत तरकारी खेतीका लागि गड्यौला मल निकै नै उपयोगी रहेकोे छ ।
संस्थाले शुरुमा दशवटा ब्यवस्थित सेड बनाएर कामको शुरुवात गरेको छ । एउटा सेडमा दुईवटा खण्ड रहेका छन् । सेडको वालको बीच बीचमा प्वाल राखिएको छ , त्यसमा माटो भरिएको छ । त्यहाँ नयाँ तरिकाबाट तरकारी खेती (विशेष गरि लहरेबाली) गरिने संस्थाका अध्यक्ष दिक्पाल तिमल्सिना बताउँछन् ।
संस्थाले निकट समयमै ब्यवसायिक झिंगा पालन समेत गर्ने उदेश्यले तयारी गरिरहेको छ । त्यसैको तैयारी स्वरुप अध्यक्ष तिमल्सिनाले आफैंले ईन्डोनेसियाबाट झिंगाको अण्डा ल्याई झिंगा पालिरहेका छन् । झिंगापालनको परिक्षण सफल भएका कारण सहकारी मार्फत ब्यवसायिक रुपमा झिंगापालन शुरु गर्न लागिएको तिमल्सिनाको भनाई रहेकोे छ ।
रोजगारीका सिलसिलामा जापानमा रहँदा संगालेको ज्ञानलाई आफ्नै देशमा केही गर्न सकिने देखि सोही अनुसार सहकारी मार्फत नै ब्यवसायिक झिंगापालन गर्न लागिएको उनी बताउँछन्।
झिंगाको लार्भामा अत्यधिक प्रोटिन हुने हुँदा कुखुरा , हाँस , माछा , बंगुर , कुकुर, बिरालो लगायत पशुपन्छीलाई आहाराका रुपमा प्रयोग गर्न सकिन्छ । विदेशमा झिंगाको लार्भाको पाउडरबाट बिस्कुट बनाई पौस्टिक आहाराका रुपमा सेवन गर्ने गर्छन् ।