प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्व–गृह मन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले शुक्रवार दिएको निर्णयको पूर्ण पाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गर्नुभएको हो । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरू संवादमा नै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सल्लाह गर्दैर्छौँ । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौँ ।’ लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृह मन्त्रीको पदबाट लामिछाने हट्नुभएको थियो । आइतवार पुनः लामिछानेले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको थियो । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आउनुभएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) को आज बसेको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक भोलि बुधवार पुनः बस्ने बताउनुभयो । प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृह मन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिनुभयो ।
राष्ट्रपतिको चुनावका बारेमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भन्नुभयो, ‘राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र धेरैजसोको समान धारणा छ ।’ उहाँले राष्ट्रपतिको चुनाव हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।