कोशी प्रदेश नामकरणको विरुद्धमा पहिचानवादीहरूले इटहरी उपमहानगरपालिकामा ताला लगाएका छन् । छापामार शैलीमा पहिचानविरोधी नामकरण गरेको भन्दै १ नं प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले उपमहानगरपालिकामा तालाबन्दी गरेको हो ।
तालाबन्दी गर्ने क्रममा प्रदर्शनकारीहरूले ‘पहिचान विरोधी होसियार,’ ‘पहिचान मेट्न पाइँदैन,’ ‘प्रदेशको नाम खारेज गर’ लगायतको नारा लगाएका थिए । पहिचानवादीहरूले उपमहानगरमा ताला लगाएपछि नगर प्रहरीले भने ताला तोडेको छ । कार्यालयको नियमित कार्यमा बाधा परेको भन्दै प्रहरीले ताला फुटाएको हो ।
कोशी प्रदेश नामकरणको विरोधमा पछिल्लो समय पूर्वी नेपाल अशान्त बनेको छ । मङ्गलबार मात्र १ नं प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगरमा सांसदहरूलाई खबरदारी गर्न आयोजना गरेको प्रदर्शनमा झडपको स्थिति पैदा भएको थियो । प्रदर्शनको क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडप हुँदा २२ जना घाइते भएका थिए ।