आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।