२७ साउन,हेटौँडा- चितवनमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) र हेटौँडामा रहेको चुरेहिल अस्पताल मर्ज हुने भएको छ ।
शनिबार (आज) चुरेहिल अस्पतालको आठौं साधारणसभाले चितवन मेडिकल कलेजसँग मर्ज हुने निर्णय गरेको छ । चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानको उपस्थितिमा भएको साधारणसभाले विस्तृत सम्झौतामा आगामी भदौ ७ गते हस्ताक्षर गरिने निर्णय गरेको चुरेहिल अस्पतालका प्रबन्धक नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
मर्जपछि २५ बेडको चुरेहिल अस्पताललाई एक सय बेडमा विस्तार गरी विशेषज्ञ सेवाहरु पनि विस्तार गरिने प्रबन्धक श्रेष्ठले बताउनुभयो । एक सय बेडमा विस्तार गरेसँगै चुरेहिल अस्पतालमा नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा राम्रो मानिएको चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल अस्पतालसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना बनाउनु मकवानपुरका लागि महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।