राजकुमार के.सी.
हेटौंडा, १२ चैत्र÷/“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघहरुको समन्वयमा ६७ औं सहकारी दिवस विविध कार्यक्रम सहित भब्यरुपमा मनाईने भएको छ ।
सोमबार बागमती प्रदेश स्तरीय ६७ औं सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि चैत्र १४ गते देखि सप्ताहब्यापी विभिन्न कार्यक्रम तय गरेकोछ ।
यस अघि नै ६७ औं सहकारी दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाईने मूल समारोह समिति संयोजक देवकोटाले बताउनुभयो ।
मूल समारोह समितिको कार्यक्रम अन्तरगत १४ गते प्रदेश भरका सबै सहकारी संघ/संस्थाको कार्यालयमा ६७ औं सहकारी दिवसको नारा सहितको ब्यानर राख्ने, कार्यक्रम अन्तरगत १५ गते ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, १६ गते देखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दिपावली गरी सहकारी दिवस समापन गरिने मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दहालले बताए ।
सचिवालयले सप्ताहभर प्रदेश भरका सहकारी संस्थाहरुले सञ्चालन गर्ने सहकारी दिवस लक्षित कार्यक्रमहरुको जानकारी प्रदेश सहकारी बिकास बोर्ड वा सहकारी दिवस मूल समारोहको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ । र उक्त कार्यक्रमहरुलाई समेत मूल समारोह समितिको कार्यक्रममा समावेश गरिने जानकारी कार्यालय सचिव दहालले बताए ।
सम्वन्धित समाचार
Add A Comment