धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ ।
दुर्घटनामा परेर रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा रहेको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको जनाइएको छ ।
मृतक यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।