यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ ।
भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु सहभागी सास्कोफले दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्दछ । यसमा अन्य अन्तर्राष्ट्रिय विशेषज्ञहरुको समेत राय लिने गरिन्छ ।
त्यसैको आधारमा निकालिने निष्कर्षको आधारमा दक्षिण एसियाली देशहरुले आ–आफ्नो देशको अलग्गै मौसमी अवस्था प्रक्षेपण सार्वजनिक गर्दछन् । नेपालको जल तथा मौसम विज्ञान विभागले पनि मनसुन अवधिको सम्भावित अवस्था सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्, ‘सास्कोफले यस वर्षको मनसुनमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपणसहितको प्रतिवेदन पठाएको छ, त्यो प्रतिवेदनको आधारमा हामी हाम्रो अलग्गै प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं ।’ आगामी दुई साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने तयारीअनुसार काम भइरहेको उनले बताइन् ।