काठमाडौं । भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ । नेपाललाई भारतसँग ८–० गोल अन्तरले पराजित हुनपरेको नराम्रो झड्का लागिरहेको छ । आजको खेलमा त्यो झड्का बिर्साउनेगरि नेपाल बंगलादेश विरुद्ध जीत निकाल्न चाहान्छ । प्रतियोगितामा अपराजित रहेको बंगलादेश विरुद्ध नेपालले जीत निकाल्नु त्यति सजिलो भने छैन । नेपालले अघिल्लो चरणको यात्रा तय गर्न बंगलादेशलाई हराएर मात्र पनि पुग्दैन । नेपाललाई ८ गोल हान्ने भारतले आजै हुने माल्दिभ्स विरुद्धको खेलमा हार खानु वा बराबरी खेल्नुपर्दछ । भारतले जीत निकालेमा नेपालले बंगलादेशलाई ९–० गोल अन्तरले हराउनु पर्नेछ । जुन असंभवप्रायः छ । नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ । बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेमा पनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ । बंगलादेश सोही रणनीतिमा नेपालविरुद्ध मैदान उत्रनेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि २० साउन खेल्नेछ ।
सम्वन्धित समाचार
Add A Comment