काठमाडौं : कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ। सभामुखका लागि एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ।सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो। एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एक÷एक जना सांसदको समर्थन छ।
कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन्। पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। सुदुरपश्चिम प्रदेशले भने दोस्रो पटकको निर्वाचनबाट पनि सभामुख पाउन सकेन। हिजो साँझ भएको मतदानमा माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको पक्षमा बराबर मत परेपछि सभामुख चयन नभएको हो। ५३ प्रदेशसभा सांसद रहेको सुदुरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा हिजो साँझ भएको मतदानमा भण्डारी र रावलको पक्षमा २२/२२ मत परेको थियो।