२० माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मकवानपुर कै उत्कृष्ट दुग्ध सहकारी संस्था मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. ले शुक्रबार आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीका बल्लभ सापकोटा तथा वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेका साथै नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजना हेटौंडाका प्रमुख डा. बिदुर गौतमको विशेष आतिथ्यता रहेको थियो ।
वार्षिकोत्सब कै अवसर पारी ‘स्वच्छ दुग्ध उत्पादन तथा दुध जन्य पदार्थ सेवन’ विषयमा अन्तरक्रिया गरिएको छ । केन्द्रिय दुग्ध सहकारी संघ नेपाल मार्फत सेसी नेपालका भोलिन्टियर डा. विनोद प्रसाद गुप्ताले अन्तरक्रियाको सहजीकरण गर्नुभएको थियो ।
वि.सं. २०४२ सालमा स्थापना भएको संस्थाले अहिले दुग्ध विविधीकरण उद्योग समेत संचालन गरेको छ । हाल दैनिक ४ हजार तीन सय लिटर दुग्ध संकलन गरिरहेको संस्थाले दैनिक २२ देखि २५ सय लि. दुधको विविधीकरण गरि नौनी , घ्यू , पनिर , दहि , छुर्पी , मोहि लगायत उत्पादन गरि बजारमा उपलब्ध गराएको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
संस्थाले केही दिन अघि मात्र आफ्नो उत्पादन बजार सम्म लान खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र प्राप्त गरेको ब्यवस्थापक शशी लम्सालले बताइन् । उद्योगबाट उत्पादन भएका सामाग्रीको बजारमा माग धेरै नै भएको उनले बताएकी छन् ।
कार्यक्रममा विभिन्न सहकारी संस्था , सामुदायिक वन लगायतका संघ संस्थाका प्रतिनिधिहरुका साथै संस्थाका पुर्व अध्यक्ष , संचालक तथा लेखा समिती , शेयर सदस्य , कृषकहरुको उपस्थिति रहेको थियो ।