४ भाद्र,मकवानपुरगढी- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौर अहिले ब्यवसायिक तरकारी खेती र दुध उत्पादनमा अग्रसर देखिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौडा बजार देखि करिब २५-३० किलो मीटरको दुरीमा अवस्थित रहेको बुढिचौर समुन्द्री सतह देखि १३०० मीटर सम्मको उचाइमा रहेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जैविक विविधतायुक्त, कृषि विकासको निकै सम्भावना बोकेको यस वडाका अधिकांश जनताहरु करिब ९० प्रतिशत कृषि पेशालाई मुख्य पेशा बनाई जिविकोपार्जन गरिरहेका छन् ।
अधिकांश युवाहरु रोजगारीको सिलसिलामा विदेशिने क्रम दिनानुदिन बढ्दै गईरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढिचौरमा कृषि पेशा व्यवसायमा तुलनात्मक रुपमा युवा पुस्ताको बाहुल्यता रहेको देखिन्छ । युवाहरुले गाउँभरि टनेल बनाएर सेताम्मे बनाएका छन् र आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेक छन् । यस्ता युवा पुस्ताहरुलाई कृषि पेशा व्यवसायमा अभिप्रेरित गरि उत्साह थप्न तिनै तहका सरकारले गम्भिरतापूर्वक लाग्नु पर्ने देखिन्छ ।
कृषकहरुले थुप्रै थुप्रै समस्या भोग्दै आईरहेका छन् । समयमा गुणस्तरीय कृषि सामाग्री नपाउनु, रोगकिराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरणा लगायतका यावत समस्याका बावजुद कृषकहरुले आफ्नै पौरखमा रमाउदै खेतबारी हराभरा बनाएका छन् ।
तीन महिनामा डेढ करोडको तरकारी निर्यात :
मकवानपुरगढी ८ बुढिचौरमा मुख्य रुपमा प्लाष्टिक टनेल भित्र बेमौसमी गोलभेडा खेती भईरहेका छन् । यस वडामा १५० कृषक घरधुरीले टनेल बनाई गोलभेडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, ईस्कुस लगायतका तरकारीहरु उत्पादन गर्दै आईरहेका छन् । एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले उपलब्ध गराएको तथ्याँक अनुसार जेठ महिना देखि साउन महिनासम्म तीन महिनाको अवधीमा १५० मे.टन गोलभेडा र अन्य तरकारी गरि डेढ करोड रुपैंया बराबरको तरकारी निर्यात भएको सहकारीका व्यवस्थापक गुञ्जरत्न लुङ्वाले जानकारी गराउनु भयो ।
दैनिक १००० लिटर भन्दा बढी दुध संकलन:
एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले २०७९ पौष १ गतेबाट दुध संकलन शुरुवात गर्दा पहिलो दिन ६० लिटर दुध संकलन भएको थियो । दुध संकलन शुरुवात सँगै सहकारी संस्थाको अग्रसरता र गाउँपालिकाको सहजीकरणमा गाई/भैंसी पाल्ने कृषकहरुको संख्या बढ्दै गयो । हाल दैविक रुपमा विहान बेलुका गरि १००० लिटर दुध संकलन भईरहेको पशु सेवा प्राविधिक कर्ण बहादुर बि.क.ले जानकारी दिनुभयो । दुध संकलन शुरु हुनुभनमदा पहिले ४/५ कृषक परिवारले घरापसी प्रयोजनको लागि गाई/भैंसी पालिरहेकोमा अहिले ६८ कृषक परिवार पशुपालनमा संलग्न रहेका छन् । जसमा ५८ वटा गाई र १७ वटा भैंसी रहेका छन् । क्रमश: पशुपालन गर्ने कृषक र पशुको संख्यामा वृद्वि भईरहेको सहकारीका सचिव अजय योञ्जनले बताउनुभयो । कृषकहरुलाई पशुपालनले दुध उत्पादनबाट आम्दानी वृद्वि सँगै खेतीको लागि गोठे/गोबर मल पनि गाउँमै उपलब्ध हुन थाल्यो । यसले खेती खर्चको लागत समेत घटाउन मद्दत पुर्याउँछ । सहकारीका अध्यक्ष बालानन्द तिमल्सीनाले थप्दै भन्नुभयो हामीले खेतीको लागि अन्यत्र स्थानबाट महँगो मूल्य तिरेर गोठेमल ल्याई रहेकोमा अब ल्याउने क्रम हट्दै जान्छ ।
यसैबीच केहिदिन अघि मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढिचौरमा कृषकहरुले लगाएका तरकारी बाली लगायत दुग्ध उत्पादनका विषयमा स्थलगत फिल्ड अवलोकन गर्नुभएको छ ।
कृषकहरुको मेहनत र लगनशीलतालाई उच्च कदर गर्दै गाउँपालिका अध्यक्षले उत्पादनमुखी योजनालाई पालिकाले प्राथमिकतामा राखेको बताउनु हुदै यस वर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्य नजर गर्दै ईक्चुङ हुदै र सुकौरा हुदै हेटौडा सम्म दैनिक रुपमा सवारी साधन आवतजावत गर्न सक्ने वातावरण मिलाइएको बताउनुभयो । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरि थप कृषिको क्षेत्रमा लगानी भित्र्याउने उहाँले बताउनुभयो ।
अवलोकनका क्रममा एकता स्वाबलम्बन कृषि सहकारी संस्थाका पदाधिकारी तथा कृषकहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको टोलीमा सहभागी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
कार्यक्रममा वडा न. ८ का वडाध्यक्ष कुमार सिंह घिसिङ, वडा सदस्यद्वय गोकुल देबकोटा, गमला वि.क. स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारीहरु र ५० जना कृषकहरुको सहभागिताको रहेको थियो ।
(मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीको सहयोगमा)