छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितिले सो बारे जानकारी दिएको हो ।
सम्मेलनमा बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने बताए ।
गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि हात पारेको थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।
उक्त प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन १० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।