मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु मावि ब्यवस्थापन समिति बिहिन अवस्थामा छ । विद्यालयको गत पौष १४ गते भएको अभिभावक भेलामा तत्कालीन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनले समिति विघटन भएको घोषणा गरेकी थिइन् ।
सोहि दिन देखि नयाँ ब्यवस्थापन समिति चयनका लागि सर्वसम्मत गर्ने प्रयास अघि बढे पनि लामो समयसम्म सहमति नभएपछि समिति चयनमा ढिलाई भएको हो । शुरुमा ३७ जनाले ब्यवस्थापन समितिमा रहेर काम गर्ने इच्छा राखे पनि अन्तिम समयमा १० जनामा कुरा नमिल्दा सहमति नभएको बताइएको छ ।
लामो समयको सहमती मै सर्वसम्मत गर्ने प्रयास असफल भएपछि माघ २१ गते आइतबार मतदानबाट टुंगो लगाउने गरी गत माघ १६ गतेबाट निर्वाचन प्रक्रिया शुरु भएको थियो । जस अनुसार १० जनाले मनोनयन दर्ता गराएका थिए । कम्तीमा २ जना महिला अनिवार्य हुनेगरी ४ जना अभिभावक मध्येबाट छानिनु पर्ने शिक्षा ऐनमा ब्यवस्था भए अनुसार हुन लागेको निर्वाचनमा ४ जना महिला र ६ जना पुरुषले मनोनयन दर्ता गरि निर्वाचन कार्यक्रममा सहभागी भएका थिए ।
तर १८ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारलाई चुनाव चिन्ह वितरण गर्ने दिन नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रेस विज्ञप्ति नै जारी गर्दै एमालेले भद्र सहमति तोडेको भन्दै एकाएक निर्वाचन प्रक्रियामा सहभागी नहुने जनाए । सोहि अनुसार १० जना उमेदवार मध्ये ४ जना चुनाव चिन्ह लिने प्रक्रियामा सहभागी भएनन् फलस्वरूप पुनः सहमति गर्ने भन्दै सम्बन्धित पक्ष बिच विभिन्न छलफल र वार्ता भइ रहेका छन् । तर अझै सहमति वा निकासको चुरो निस्किएको छैन । जसको कारण २१ गते गर्ने भनिएको मतदान प्रक्रिया अझै अनिश्चित छ ।
पालिकाकै नमुना विद्यालयका रुपमा लम्किरहेको विद्यालयमा यसरी ब्यवस्थापन समिति चयनमा अन्योलता हुनु बिडम्बनाको विषय भएको अभिभावकहरुको भनाई रहेको छ । कि सहमति , नभए निर्वाचन प्रक्रिया बाटै भए पनि छिटो भन्दा छिटो समिति चयन हुनुपर्ने उनीहरुको माग रहेको छ ।
सम्वन्धित समाचार
Add A Comment