निर्वाचन आयोगले आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले फागुन २९ देखि चैत्र ५ गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा सार्वजनिक गरेको हो ।
स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुगेका कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिएको छ ।
जसमध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेको आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसअनुसार, मोरङमा ७ लाख ३९ हजार ३९० र मनाङमा ६ हजार ८४९ मतदाता रहेका छन् ।