प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
लगानी बोर्डको ५७ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको हो । उहाँले लगानीकर्ताले थाहा पाउने गरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।
लगानी बोर्डले परम्परागत र सामान्य उपलब्धि दिने गरी काम गरेर नपुग्ने भन्दै प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष प्रचण्डले बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । देशभित्र सार्वजनिक–निजी साझेदारी (पीपीपी) को वातावरण विकास गर्नुपर्ने र पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई सबै निकायले ध्यान दिन पनि उहाँले निर्देशन दिनुभयो ।