अब हेटौंडामा पनि पठाओको सेवा बिस्तार हुने भएको छ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले हेटौंडासँगै देशभरका थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो ।
बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित उक्त सेवा हेटौंडासहित अन्य सहरमा पनि उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।
पठाओको सेवा अब कोशी प्रदेशका बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा बिस्तार गर्न लागिएको प्रबन्ध निर्देशक बस्न्याले बताए ।
यसैगरी, मधेस प्रदेशको वीरगञ्ज र जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सो सवा बिस्तार गर्न लागिएको उनको भनाई छ ।
साथै सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको र त्यसको लागि नविकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।
कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत् तालिम पनि दिइने उनले बताए । उनका अनुसार, इच्छुक व्यक्तिले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।
राइडर बन्नेहरुले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने उनले बताए ।