काठमाण्डौ – राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले पार्टी नेत्री विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पुडासैनी गएको माघमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
राष्ट्रिय सभामा अहिले ५८ जना सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य छन् ।
माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भइरहेको छ ।