मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. ६ का पूर्व वडा अध्यक्ष टिका प्रसाद दाहाल यतिबेला फुल खेतीमा ब्यस्त रहनुभएको छ । उहाँ यतिबेला सयपत्री फुल टिप्न व्यस्त देखिनुहुन्छ र उहाँलाई कान्छो छोरा र परिवारका अन्य सदस्यहरुले पनि साथ दिएका छन् ।
मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ को बाग्दलीमा दाहालको कलश बहुउद्देश्यीय कृषि फार्म रहेको छ । जहाँ गोदावरी र सयपत्री गरेर हाल ८ रोपनी जग्गामा फुलखेती गरिरहनु भएको उहाँको यो वर्षको लगानी ३ लाख रहेको छ । अहिलेसम्म अढाई लाखको फुल बिक्री गरिसकेको र यो वर्ष ८ लाखको फुल बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाई रहेको छ । त्यसकै हाराहारीमा गत वर्ष पनि फुल बिक्री गरेकोले यो वर्ष लक्ष्य पुरा हुने उहाँ बताउनुहुन्छ । यसवर्षबाट गुलाबको पनि खेती गर्ने तयारी गरेको दाहालले बताउनुभयो ।
उहाँले यस वर्ष तिहारमा सयपत्री फुल बिक्रीमा देशैभरि समस्या देखिएको बताउनुहुदै आफूले केहि सस्तो मूल्यमै भएपनि सवै फुल बिक्री गरेको जानकारी दिनुभयो ।
विगत २ वर्षदेखि व्यवसायिक फुल खेतीमा रमाउँदै आउनुभएको छ । अहिले फार्ममा सयपत्री र गोदावरी फुल फुलिरहेका छन् । उत्पादित फुलको मुख्य बजार काठमाण्डौ र हेटौडा रहेको छ । दाहालले आफ्नो फार्मबाट फुलको माला, फुलको गुच्छा र फुलको बुगी बनाएर बिक्री गर्दै आईरहनुभएको छ ।