फागुन ४ मा एमसीसी पास गर्ने तयारी

हेटौँडा/ सरकारले बुधबार फागुन ४ मा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । अमेरिकाको दबाब बढ्दै गएपछि सत्तारुढ गठवन्धनले एमसीसी पास गर्ने तयारी गरेको हो ।mcc

दबाब बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार एमसीसी सम्झौता संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेका छन् भने सत्तारुढ गठवन्धनका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि लचक बनेका छन् । तर उक्त संसद बैठकमा आफ्ना साँसदहरुलाई पठाए पनि नेताद्धय प्रचण्ड र माधव नेपाल भने अनुपस्थित हुने जनाइएको छ ।

ध्वनी मतका आधारमा एमसीसी पास गर्ने तयारी गरेको सत्ता गठवन्धनले मंगलबार बैठक बसेर औपचारिकरुपमा निर्णय गर्ने र बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच पनि पास गर्ने तयारी गरिएको हो । एमसीसीलाई लामो छलफल गरिरहने पक्षमा देउवा छैनन् । प्रस्तुत भएकै दिन पास गराउने तयारीमा उनी छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र एमसीसी पास गर्ने कुरामा विवाद कायम छ । नेपालमा निकै पेचिलो र विवादित बनेको एमसीसी सम्झौता अनुमोदन गर्ने कुरामा उत्तरी छिमेकी असन्तुष्ट देखिन्छ भने दक्षिणी छिमेकी भारत मौन देखिन्छ । तर विश्वशक्तिको रुपमा रहेको अमेरिकाले प्रतिवद्धताअनुसार फेब्रुअरी २८ भित्र एमसीसी पास नगरे नेपालसम्वन्धी आफ्नो नीतिमा परिवर्तन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलबार सत्ता गठबन्धनको बैठक बसेर एमसीसी सम्झौता संसद्मा ‘टेबल’ गर्ने विषयमा औपचारिक निर्णय गरिने बताइसकेका छन् । यता देउवाले एमसीसी नरोक्न ठूलो दबाब रहेको भन्दै रोकिए वैदेशिक सहायता बन्द हुने र सरकार झन् संकटमा पर्ने बताएका छन् ।

एमसीसी विवाद चर्किएको बेला सत्ता गठवन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर प्रमुख प्रतिपक्षसँग झन तित्तता बढाएको छ । यसले एमसीसीमा ठूला दलहरुबीच साझा धारणा बनाउने संभावना कम भएको छ ।

सत्ता गठवन्धनको बैठकमा देउवाले निकै अडान राखेपछि गठबन्धन नभत्काई चुनावहरुसम्म कायम राख्ने शर्तमा एमसीसी सम्झौता संसद्मा अघि बढाउन प्रचण्ड र माधव लचक भएका हुन् । तर बैठकमा आफ्ना सांसद उपस्थित भए पनि आफूहरु भने अनुपस्थित हुने कुरा उनीहरुले बैठकमा बताएको समाचार छ ।

एमसीसी संसद बैठकमा टेबुल गर्न आनाकानी गर्दै आएका सभामुखलाई पनि मनाउन प्रचण्ड तयार भएका छन् । अन्तिम अवस्थामा एमालेले पनि एमसीसी पास गर्न सहयोग गर्ने प्रधानमन्त्री देउवाको आशा देखिन्छ । यसअघि ओलीकै समयमा एमसीसी सम्झौता संसदमा लगेका थिए । एमसीसी पास गर्ने कुरामा मधेसी दलहरु भने सकारात्मक नै देखिन्छन् ।

प्रदेश समाचार राजनीति समाचार समाज स्थानीय