कैलालीमा गोली प्रकरण : ३५ तोला सुन लुटियो

धनगढी : कैलालीमा आइतबार बेलुकी गोली चल्यो। जिल्लाको अत्तरियास्थित गोदावरी नगरपालिका-२ को सशस्त्र प्रहरी क्याम्पअगाडि गोली चलेको थियो। प्रहरीका अनुसार अत्तरिया र सुखडमा सल राखेर सुनचाँदी व्यवसाय गर्दै आएका २८ वर्षीय विकास सुनारमाथि २ राउण्ड गोली बर्सिएको थियो।

सुनारको पसल दुई ठाउँमा भएकाले उनी दिउँसो सुखड र राति अत्तरियामा बस्छन्। अरु दिनजस्तै हिजो (आइतबार) पनि बेलुका करिब ६ बजे पसल बन्द गरेर उनी सुखडबाट अत्तरियातिर लागे। उनी आफ्नो प्रदेश ३ ०२०११ प ७३५० नम्बरको निजी मोटरसाइकलमा अत्तरियातर्फ आइरहेका थिए।

करिब ६ बजेर २० मिनेटमा उनी गोदावरी नगरपालिका-२ स्थित सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै पुगेका थिए। त्यत्तिकैमा पूर्वबाट पश्चिमतर्फ एउटा सेतो कलरको अपाचे मोटरसाइकल (नम्बर नखुलेको) मा  दुईजना अज्ञात व्यक्ति आए। विकासको मोटरसाइकलनजिक आइपुगेपपछि ती दुईजनाले  विकासमाथि गोली चलाए। 

गोली हान्नेहरूको खोजतलास भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइते विकासमाथि २ गोली चलाइएको जानकारी दिए।

उनले भने, ‘घाइतेले हामीसँग २ गोली चलेको भनेर भनेका छन्। पहिलो गोली प्रहार गर्दा उनी छल्न सफल भएछन्। तर पुनः दोस्रो गोली प्रहार हुँदा उनको दायाँ पाखुरामा गोली लागेछ। दोस्रो गोलीमा उनी बाइकबाट ढलेछन्।’ पाखुरामा गोली लागेका उनको ढाड पनि चोट लागेको जोशीले बताए।

गोलीको आवाज सुनेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए। त्यसपछि विकासको उद्धार गरेर उपचारका लागि धनगढी ल्याइएको थियो। विकासको अहिले धनगढीस्थित मायामेट्रो अस्पताल उपचार जारी छ। उनी खतरामुक्त रहेको भए पनि डिस्चार्ज भने नभएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीका फरकफरक टोली खटिएका छन्।

Uncategorized समाचार समाज