हेटौंडामा सवारी दुर्घटना, तितुङको मृत्यु

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ स्थित पुर्व–पश्चिम सडकखण्डमा आज  दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१९ कुवापानी बस्ने १७ वर्षीय सुदिप तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, दिउँसो १२ः १५ बजेको समयमा बस्तिपुरबाट नेवारपानीतर्फ आउँदै गरेको ना ५ त ७३३८ नम्वरको खाली ट्याक्टरको ढालामा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प १५०३ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तितुङ गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका तितुङलाई उपचारको लागि हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पताल लगिएकोमा चिकित्सकले १२ः४८ बजे मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । प्रहरीले ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाज