हेटौंडामा पहिलो पटक नमूना युवा संसद र आत्मरक्षा सम्बन्धी प्रशिक्षण

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नमूना युवा संसद अभ्यास सम्बन्धी ५ दिवसीय प्रशिक्षण कार्यक्रम तथा महिलाहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारबाट दुबै कार्यक्रमहरु सुरु भएका हुन् ।मंगलबार भएको उद्धाटन सत्रमा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।
हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा गठित वडास्तरीय युवा क्लबका प्रतिनिधीहरु तथा विभिन्न वडाका महिला प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमा मेयर महतले दुबै कार्यक्रमहरु युवाहरुका लागि एकदमै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले अहिलेको समयमा युवाहरु नै नगरको विकासमा प्रतिनिधित्व गर्न अग्रसर हुनुपर्ने भन्दै हेटौंडाको मेयर तथा उपमेयरमा प्रतिनिधित्व गर्नका लागि आसन्न स्थानिय चुनावमा युवाहरु पनि सहभागी भएमा आफूलाई खुसी मिल्ने उहाँको भनाई छ ।

यसैगरी महिलाहरुका लागि आयोजित आत्मरक्षा सम्बन्धी ३ दिवसीय कार्यक्रम प्रभावकारी भएपनि पर्याप्त नभएको पनि मेयर महतले बताउनुभएको छ । युवाहरु स्वस्थ र आत्मरक्षाको लागि सदैव खेलकुदमा सक्रिय रहनुपर्ने बताउनुहुँदै उहाँले सहभागिहरुलाई आत्मरक्षाको लागि अझै बलियो बन्नका लागि बक्सिङ खेलको प्रशिक्षण लिन समेत उहाँले सुझाव दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले युवा तथा खेलकुदका लागि समेत पर्याप्त कामहरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले सरकारी स्तरबाट हेटौंडा उपमहानगरपालिकामा पहिलो पटक नमुना युवा संसद कार्यक्रम अन्तर्गत नमुना युवा नगरसभा कार्यक्रम संचालन भएको बताउनुभयो । कार्यक्रममा युवाहरुलाई नमूना संसद संचालन, कार्यक्रम निर्माण तथा प्रपोजल निर्माण लगायतका नेतृत्व विकासका प्रशिक्षण प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

शनिबारसम्म आयोजना हुने नमूना युवा संसद अभ्यास कार्यक्रममा राष्ट्रिय युवा परिषदका रमेश कुमार पौडेल र प्रशिक्षक श्याम काजी खत्रीले प्रशिक्षण प्रदान गरिरहनुभएको छ, त्यस्तै आत्मरक्षा तालिममा प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठ र सहायक प्रशिक्षक सुजता भुजेलले प्रशिक्षण प्रदान गरिरहनु भएको छ ।

Uncategorized