मकवानपुरका सुनिल बल लिगको सर्वोत्कृष्ट खेलाडी घोषित

हेटौँडा/ मकवानपुरे फुटबल खेलाडी सुनिल बल सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले नगद ३ लाख प्राप्त गरेका छन् ।

उनी सम्मिलित मछिन्द्र फुटबल क्लब लगातार यसबर्ष पनि लिग च्याम्पियन बनेको छ । मछिन्द्रलाई लगातार लिग च्याम्पियन बनाउन सुनिलको भुमिका महत्वपूर्ण रहेको थियो । उनले लिग अवधिभर ६ गोल समेत गरेका थिए ।
यस्तै यसबर्षको उदीयमान खेलाडीको पुरस्कार त्रिभुवन आर्मी फुटबल क्लवका दिनेश हेन्जनले प्राप्त गरेका छन् । उनले बागमती प्रदेशबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षकको पुरस्कार मछिन्द्रका विशाल श्रेष्ठले प्राप्त गरे । उनलाई नगद २ लाख रुपैयाँ प्रदान गरिएको थियो । यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फ्रेण्ड्सका जमोल एन्थोनी फ्रान्कोइसले प्राप्त गरे । उनले लिगमा ७ गोल गरेका थिए ।

एनआरटीका मेसुके ओलुमोले पनि समान ७ गोल गरेका भएपनि कम समय खेलेको आधारमा जमोल एन्थोनीलाई प्रदान गरिएको थियो । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जितेको छ ।

खेलकुद समाज