आजदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा आजदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार गरिदिएपछि अस्पतालमा सेवा सुरु भएको हो ।

हेटौंडामै सरकारी अस्पतालमै डायलासिस सेवा सुरु भएपछि यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, वीरगञ्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको मेयर हरिबहादुर महतले बताउनुभयो । यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको छ । अहिले दश वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस भइरहेको छ । मकवानपुरमा डायलासिस गर्नुपर्ने ५ सय ३७ जना बिरामी छन् । जिल्लामै यो सेवा पाइएपछि बिरामी र आफन्तहरु निकै खुसी भएका छन् ।

नगरवासीलाई पहिले स्वास्थ्य सुविधा दिएर मात्र पूर्वाधार विकासमा जोड दिइएको मेयर महतले बताउनुभयो । आउँदो आर्थिक वर्षको बजेटमा पनि अस्पतालको स्वास्थ्यमा उपमहानगरपालिकाले रकम छुट्याएको उहाँको भनाइ छ । अब उपमहानगरपालिकाकै लगानीमा सरुवा रोगको उपचार गर्नका लागि अस्पताल स्थापना गरिने पनि मेयर महतले बताउनुभयो ।

समाज स्थानीय स्वास्थ्य