अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताइन । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पु¥याइएको जानकारी दिइन ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो ।

वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुग्नुभएको हो । उहाँले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाङ्गिया बस्तीमा बत्ती पु¥याउन तीन वर्षअघि नै कोसिस गरिएको भए पनि सफल हुन नसकेको स्मरण गर्दै ऊर्जा मन्त्रालयबाट भएको निरन्तरको प्रयास र पहलबाट अहिले विद्युतीकरणका लागि गाँठो फुकेको बताए ।

यस बस्तीमा तामाङ, मगर, दलित र क्षेत्री–बाहुनको बसोबास छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र सुकुम्बासी बस्तीका नाममा यहाँ शिक्षा, खानेपानी, सडक, विद्युत्जस्ता आधारभूत पूर्वाधारको समेत विकास गरिएको छैन ।

Uncategorized