एनसेल ‘एसियन टेलिकम अवार्ड’ को दुई विधामा सम्मानित

हेटौँडा/ एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डाटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएको हो ।

सिङ्गापुरमा रहेको ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । यस अवार्ड अन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई
भर्खरै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।

कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो । त्यस्तै सरकारको डिजिटलाइजेशन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डाटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।

‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेशन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयो, ‘हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’

सरकारलाई कोरोना भाइरस रोकथामका लागि ‘कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले फ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारी रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने काम गरेको छ ।

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाण्डौ उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डाटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्‍याउने । यस किसिमको आधुनिक डाटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार अहिलेसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पुर्‍याउँदै डिजिटल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान गर्नेछ ।

२०७२ सालको भूकम्पले पारेको प्रभावलाई मध्यनजर गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी एनसेलले यो डाटा सेन्टर स्थापना गरेको हो । यसले बैंक तथा वित्तीय संस्था, बीमालगायत विभिन्न कम्पनीलाई आफ्ना डाटामा आधारित व्यवसाय विस्तार गर्न र उनीहरूको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्छ ।

गएको वर्ष अर्थात् २०२१ मा पनि एनसेल ‘आजियाटा सिनियर लिडरसिप अवार्ड २०२१’ अन्तर्गत ‘मस्ट इम्प्याक्टफुल सस्टेनेबिलिटी इनिसिएटिभ’, ‘बेस्ट ओभरअल कोभिड–१९ रेस्पोन्स’, ‘वर्ल्ड कम्युनिकेशन अवार्ड २०२१’ मा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’, ‘वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स (विट्सा) बाट ‘मेरिट विनर’का रूपमा ‘ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टररएनजीओ)’, ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ मा ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड तथा ‘एचआर मिट २०२१’ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मानित भएको थियो ।

त्यसैगरी गएको वर्ष नै एनसेलले ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’, ‘एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेशन (एसोसीओ) अवार्ड’को ‘हेल्थटेक अवार्ड २०२१’ र ‘सस्टेनेबिलिटी लिडरशिप’का लागि एनसेल र डायलग आजियाटाले अन्य साझेदारका साथ ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ प्राप्त गरेको थियो ।

समाचार समाज