साफ महिला च्याम्पियनसिपबाट नेपाल बाहिरियो

हेटौँडा/ भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबार भएको खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले एक गोल गरिन् । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित भएको हो ।
खेलको चौंथो मिनेटमा अमिशाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ६८ औं मिनेटमा शामसुन्नाहरले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा शाहदाले गोल गरेपछि बंगलादेश २–१ ले विजयी भयो ।

हारसँगै नेपालले ४ खेलमा अंक जोड्न सकेन । र, नेपाल जित विहीन बन्दै बाहिरिएको छ । बंगलादेशले भने ३ खेलमा ६ अंक जोडेको छ । अब बंगलादेशले अन्तिम खेलमा भारतको सामना गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

खेलकुद