एनआरएनए विवाद : ३ अध्यक्षको निर्णयविरुद्ध घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय (पत्रसहित)

आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।

याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो ।  निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । जबकी संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी संस्थामा ३ अध्यक्ष बनाउने निर्णय गरेको थियो । शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो ।

सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहरसहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेर बखेडा झिकेको हो ।

दशौँ महाधिवेशनबाट उपस्थित प्रतिनिधिहरूबाट संघको विधान, २००३ (२०२१ संशोधितसहित) को केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएको निवेदनमा उल्लेख छ । सोअनुसार चैत १२ गते बसेको सचिवालय बैठकबाट विधानको दफा १९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु स्वीकृतिका लागि अनुरोध गरिएको छ ।

समाचार समाज