उद्योगलाई मात्र सुपारी आयात गर्न दिने व्यवस्थामा पान व्यवसायीहरूको आपत्ति

हेटौँडा/ सरकारले औद्योगिक प्रयोजनका लागि उद्योगले मात्र सुपारी आयात गर्न पाउने व्यवस्था गरेको भन्दै पान व्यवसायीले आपत्ति जनाएका छन्। साबिकमा कम्पनीहरूले पनि सुपारी आयात गरी बिक्री वितरण गर्दै आएकोमा सरकारले यसपालिबाट उद्योगले मात्रै सुपारी आयात गर्न पाउने व्यवस्था गरेको थियो।

कम्पनीहरूबाट सुपारी आपूर्ति गरिरहेका व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न कहाँबाट सुपारी ल्याउने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्। कम्पनीहरूले खुद्रा रूपमा पान व्यवसायीलाई सुपारी आपूर्ति गराउने गरेका थिए। व्यवसायी संघले आइतबार मन्त्रालयलाई आपूर्ति व्यवस्था सहज बनाइदिन माग गरेको छ।

सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ५० हजार मेट्रिक टन सुपारी आयात गर्न दिने निर्णय गरेको छ। २०७८ फागुन २६ मा प्रकाशित वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाअनुसार अब औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी आयात गर्न पाइने छ।

नेपालमा सुपारी मलेसिया, सिंगापुर र इन्डोनेसियाबाट आउने गरेको छ। नेपालमा उत्पादित सुपारी भन्दै व्यवसायीले उत्पत्तिको प्रमाण पत्र जारी गरेर त्यही सुपारी भारत निकासी गर्ने गरेका छन्।

कम्पनीहरूले ठूलो परिमाणमा नेपाली भन्दै विदेशी सुपारी निकासी गरेको भन्दै मन्त्रालयले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी आयात खुला गरेको थियो। सरकारले व्यवसाय गर्न अनुमति दिएको, कर संकलन गर्ने गरेको तर व्यवसाय गर्नका लागि चाहिने सामग्री आपूर्तिमा भने उदासीन भएको गुनासो अधिकारीको छ।

सुपारी आयातको प्रवन्धले असर पारेको भन्दै नेपाल पान व्यवसायी संघदेखि लिएर उद्योग वाणिज्य संघ इनरूवा, जिल्ला उद्योग वाणिज्य संघ लहान, बराहक्षेत्र उद्योग वाणिज्य संघ सुनसरी, झुम्का उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ सर्लाही लगायतले मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

समाचार समाज