हेटौंडामा ६५ औं सहकारी दिवसको अवसरमा प्रभातफेरी

हेटौँडा / ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज तेस्रो दिन हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

हेटौंडा ४ स्थित भुटनदेवी माविको प्राङगणबाट विभिन्न सहकारीका नारा लगाउदैं बजार परिक्रमा गरिएको छ । रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भई विभिन्न पुरस्कार तथा सम्मान गरिने कार्यक्रम रहेको छ ।

प्रभातफेरी कार्यक्रममा प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, मुल समारोह संयोजक तथा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा सहित विभिन्न विषयगत सहकारी संघका जिल्ला अध्यक्ष, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा समिति, शेयर सदस्य र कर्मचारीले आफ्नो सहकारीका व्यानर बोकेर सहभागी भएका थिए ।

दिवसकै अवसरमा आज साँझ प्रदेशभरका सहकारीसंघ–संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाले जानकारी दिए । तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने दोस्रो दिन शनिबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । – तु खबरबाट 

 

समाज