नयाँ वर्ष २०७९ः शुभकामना आदानप्रदान गरी मनाइँदै

आज विक्रम संवत् दुई हजार उनानअसी ‍(२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको नल ५०औँ संवत्सर हो |

समाचार समाज