नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ मा हुने

हेटौंडा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सरेको जानकारी दिएको हो ।
अब नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । यसअघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तालिका रहेको थियो ।
सरकारको मन्त्रीपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि तयारी नपुगेको कारण नवौं राष्ट्रिय खेलकुदको मिति सार्नु परेको मन्त्री गहतराजको भनाइ छ ।
मन्त्री गहतराजले सार्वजनिक खरिद ऐन पालना गर्दा समय नपुग्ने, गण्डकी प्रदेशले छनोट तयारी गर्न नसक्ने अवस्था, मधेशमा राखेप गठन नहुँदा पनि काम गर्न समस्या, चुनावले काम गर्न समस्या र  कक्षा ११ र १२ को परीक्षाका कारण नवौं खेलकुदको तयारीमा समस्या भएको जानकार दिए ।
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएका छन् । यस्तै दुई खेल प्रर्दशनीको रुपमा रहेका छन् ।

खेलकुद