मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ देखि

हेटौंडा । हेटौंडामा यहि जेठ १९ गतेबाट चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडाको पिप्ले रंगशालामा हुने स्थानीयतह चौथो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १० टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

 

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल प्रतियोगिता यहि जेठ १९ गतेबाट २८ गतेसम्म रहने जानकारि दिए । उनले फुटबल संघको जिल्ला अधिवेशनको कारण प्रतियोगिता गर्न ढिलाई भएको बताउँदै जेठ १९ गतेबाट हुने गोल्डकपको तयारी तीब्र पारिएको बताए ।

 

उनले यसवर्षबाट विजेता र उपविजेता टोलिको लागि पुरस्कार राशि बढाईएको बताए । यसवर्ष प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।

यसैगरि,प्रतियोगितामा सवोकृष्ट खेलाडीले ५० हजार,विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगतामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब,सिमरा,सर्लाही बागमती युवा क्लब,विजय युथ क्लब हेटौंडा,चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख,थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरुले ५/५ लाख सहयोग गरेका छन् ।

 

खेलकुद