देशभरबाट ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

हेटौंडा । स्थानीय तहको निर्वाचनमा हाल सम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडी, धनगढी उपमहानगरमा गोपाल हमालले जित्नुभएको छ ।
यस्तै उपप्रमुखमा २ र उपाध्यक्षमा २ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्र वडाध्यक्ष १३६ जना निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला रहेका छन् । यस्तै, महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्यमा ११७ जना निर्वाचित भएका छन् ।

राजनीति