मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

हेटौंडा । हेटौंडामा बिहीबारबाट सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको चौथो संस्करणको सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले बागमती युवा क्लव सर्लाहीलाई २–० गोल अन्तरले हराएको हो ।
सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल गरेका थिए । खेलको आठौं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लिएको थियो । ८० औं मिनेटमा कृपाकान्तले अग्रता दोब्बर बनाए । सर्लाहीले खेलमा केही राम्रा ‘मुभ’ बनाएपनि गोल ननिस्किँदा निराश हुँदै घर फर्किन बाध्य भएको छ ।
खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार बीफसी भरतपुर र चर्चब्वाइज क्लव काठमाडौंको बीचमा खेल हुनेछ ।
यसअघि आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् प्रतियोगिता संयोजक प्रताप बिष्टको संयोजकत्वमा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, भीमफेदी गाउँपालिकाका अधयक्ष हिदम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितालाई जिल्लाका १० वटै पालिकाले सहयोग गरेका छन् ।
उद्घाटनको अवसरमा जिल्लाका १० वटै पालिकाका प्रमुख उपप्रमुख र मकवानपुरको बकैया गाउँपालिका–४ का सगरमाथा आरोही विक्रम कार्कीलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नव जनजागृति र बागमतीसंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्चब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको छ । -prasta khabar

खेलकुद