पल शाहको रिहाईको माग

काठमाडौं । चलचित्र अभिनेता पल शाहको रिहाईको माग चौतर्फी उठ्न थालेको छ ।
अनाहकमा लागेको आरोप प्रमाणित नभएकोले शाहकाे रिहाई हुनुपर्ने उनका समर्थक तथा फ्यानहरुले माग गरेका हुन् ।
काठमाडौंको माइतिघरमा शुक्रबार शाहको रिहाईको माग गर्दै प्रदर्शन गरियो ।

बिरोध प्रदर्शन ‘हाम्रो टिम नेपाल’ले आयोजना गरेको हो । शाहको रिहाई नभएसम्म प्रदर्शन जारी रहने टिमका अध्यक्ष विमल पन्तले जानकारी दिए । प्रदर्शनमा सामाजिक अभियन्ता, कलाकार, शाहका समर्थक र सर्वसाधारण सहभागी थिए । प्रदर्शनकारीहरुले पल शाहलाई रिहा गर, ’न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्त्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएर प्ले कार्ड बोकेका थिए ।

पोखरा स्थित उच्च अदालतले बिहीवार शाहलाई रिहा नगर्ने आदेश दिएपछि आज प्रदर्शन भएको हो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । शाहलाई तुरुन्त रिहा गर्न अन्य जिल्लाहरुमा पनि माग उठेको छ । उनलाई लागेको आरोप पुष्टि नभएपनि उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरिदिंदा शाह रिहा हुन पाएनन् ।

उच्च अदालतमा मुद्दा दायर गर्दा पेश भएका प्रमाणहरु जिल्ला अदालतमा भन्दा फरक छन् । जिल्ला अदालतबाट उच्च अदालतमा मुद्दा पुगिसक्दा आरोपमा कुनै सत्यता नदेखिएकोले शाहको रिहाई हुनुपर्ने उनको पक्षमा वहस गर्ने वकिलहरुको जिकिर रहेको छ ।

समाचार