आज घरेलु टोली विजय युथ र आर्मी भिड्दै 

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को उपाधिका लागी आज घरेलु टिम विजय यूथ क्लव र त्रिभुवन आर्मी क्लव एक आपसमा भिड्दैछन् । 
विजय यूथले नेपाल पुलिस क्लव र आर्मीले एभिनियर एफसी क्यामरुनलाई सेमीफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । अघिल्लो बर्ष पनि उपाधिका लागि आर्मी र घरेलु टिम नै प्रतिस्पर्धा गरेको थियो । आर्मी लगातार दोस्रो बर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो बर्षको बदला लिने दाउमा हुनेछ । 
आइतबार भएको ‘प्रि म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दावी गरेका छन् । आर्मीका प्रशिक्षक नविन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै दोस्रो बर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए
यता विजय यूथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेण्डर दोहोरो पहेँलो कार्डका कारण मैदान बाहिर हुने भएकोले केही समस्या पर्न सक्ने भन्दै घरेलु मैदान भएकोले उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए । विजय यूथका कप्तान अशोक बरालले सधैं टे«निङ गरिरहने आर्मीसंग खेल्न सहज नहुने बताए । 
उपाधि विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 

खेलकुद