नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार नाघ्यो  

हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार सार्वजनिक पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको हो ।
नेपालमा मंगलबार थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार १ सय ७५ कोरोना परीक्षण गर्दा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ८२ पीसीआर परीक्षण गर्दा १ सय ७७ जना र १ हजार ९३ एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा पिसिआर विधिबाट ९ लाख ८० हजार ७ सय ६७ र १ लाख ४० हजार ७ सय ४० जनामा एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
पछिल्लो समय नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढेसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय १० पुगेको छ । 
 

समाचार