प्रचण्डको इच्छा : दोस्रो राजनीतिक शक्ति, अन्तिमपटक प्रधानमन्त्री !

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्। 

शनिबार माओवादी केन्द्रकाे सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्। 

उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे। 

पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए। 

उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झिने गरी देशलाई केही चिज दिने सपना बुनेको बताए। अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरे। 

उनले दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए। उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी –माओवादी केन्द्र) मात्रै रहेको जिकिर गरे। 

 ‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो। कम्तीमा पनि लेट मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ ’ उनले भने, ‘मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु। अहिले पहिलो पार्टी त तपाईंहरू नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ। त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु। यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ। योपटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन। त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ।’

उनले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताए। किसान लक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरू र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको उनकाे भनाइ छ। 

१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्न र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे। माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गरे। 

देश विकास गर्नेकुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए। उनले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए। 

समाज भत्काउने प्रतिगमनकारीहरूले राजनीतिमा बुढापाकाहरू चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए। उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे। 

आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरीहेरी टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे। 

राजनीति