हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असईविरुद्ध जाहेरी दर्ता 

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असईविरुद्ध जाहेरी दर्ता भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो।

हिरासतमा रहेकी ती महिलालाई असई चौलागाईंले शुक्रबार राती बयानका लागि भन्दै आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईंविरुद्ध बलात्कार मुद्दा दिएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। ‘‘थुनामा राखेर अनुसन्धान भइरहेको छ’’ उनले भने, ‘‘अनुसन्धानपछि थप प्रक्रिया चालिनेछ।’’

बहुविवाहको मुद्दामा थुनामा रहेकी ती महिलालाई असई चौलागाईंले मध्यरात हिरासत कक्षबाट निकालेर आफ्नो कोठामा बयानका लागि भन्दै बोलाएर बलात्कार तथा यौन दुर्व्यवहार गरेका पीडित महिलाको आरोप रहेको छ। राती महिलालाई आफ्नो कोठामा बोलाएको भन्दै अन्य हिरासतमा रहेका व्यक्तिहरूले होहल्ला गरेपछि ती महिलालाई पुनः हिरासतमा राखिएको थियो।

समाज