बाढी र पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक अझै अवरुद्ध

म्याग्दी : आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डको ठाउँ ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि अवरुद्ध सडक मंगलवार (आज) बिहानसम्म सिधा सञ्चालनमा आउन सकेको छैन।

लगातारको वर्षासँगै गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुक्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताए।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको छ। 

म्याग्दी–काभेभीर सडकको सिमानाको बाँदरजुँगे भीर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रुले जोखिममा परेको छ। काभ्रेभीरमा सुक्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उनले जानकारी दिए। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्यधिक रहेको छ।    

समाचार