मुख्यमन्त्रीलाई सारी चुरा उपहार

जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले आज मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई आज दिउँसो सारी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो सामग्री फालेका छन् । आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरे पनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, सारी, ब्लाउज र पेटीकोट प्रदान गर्न आफूहरु त्यहाँ पुगेको उनले बताए । त्यसैगरी साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ । भुमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बालबालिकालाई राखेर प्रदर्शन गर्ने संयोजक यादवले बताए ।यी दुबै दिनको विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए । यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।-rajdhani dainik

समाचार