मकवानपुर–१ को ‘ख’ मा एमालेबाट चार जना नेताद्वारा उम्मेदवार बन्ने तयारी 

मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट चार जना उम्मेदवार बन्ने तयारी गर्नु भएको छ । मंसिर ४ गते हुने चुनाबमा प्रदेशसभा तर्फको निर्वाचनमा उम्मेदवारी दिनका लागि चार जना नेता कस्सिएर लाग्नु भएको हो ।

प्रदेशमा उम्मेदवारी दिनका लागि नेकपा एमालेका प्रदेश किमटीका सदस्य तथा मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, अर्का प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभागका प्रमुख धुर्ब प्रसाद चौलागाई प्रदेशमा उम्मेदवारी दिने तयारीका साथ लाग्नु भएको छ ।

चारै जना नेताले आफुलाई पार्टिले टिकट दिए बिजयी हुने दावि गर्न थालेका छन् । भदौ १७ गते मकवानपुर क्षेत्र नम्बर–१ को (ख) कमिटीको बैठक बसेर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको छ । उम्मेदवारमा आकांक्षा गरेकाहरु धेरै भएपनि सकेसम्म एक जना महिला सहित ३ जनालाई सिफारिस गर्ने तर, आन्तरिक चुनाब भने नगर्ने पार्टी श्रोतले जानकारी दिएको छ ।

मकवानपुर जिल्लामा नेकपा एमालेको सबै भन्दा बलियो क्षेत्र भनेको हेटौंडा बजार क्षेत्रको यही क्षेत्र पनि हो । मकवानपुरमा दुइ वटा प्रतिनिधि सभा र चार वटा प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले बिजयी हुने गरी प्रत्यक टोलटोलमा पुगेको एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सबै क्षेत्र मध्यमा अझै राम्रो बलियो र सहज रुपमा जित्न सक्ने हेटौंडा बजार क्षेत्रको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार दावि गर्नेहरु पनि त्यतीकै छन् । स्थानीय तह निर्वाचनमा पनि अरु सबै दलहरु गठबन्धन गर्दा पनि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा एमालेको मत धेरै आएको थियो । नगरकार्यपालिकामा एमालेको बहुमत छ । मेयर, उपमेयर पराजित भएपनि वडा अध्यक्षहरु एमालेका धेरै विजयी भएका छन् ।

मकवानपुरको १ को ‘ख’ बाट कांग्रेसका १० जनाको नाम सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट सांसद्का लागि १० जना आकांक्षीको नाम सिफारिस भएको छ ।

सोमबार पार्टी कार्यालयमा भएको नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ समितिको बैठकले आकांक्षीहरु १० जनाको नाम जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेसबाट प्रदेश सांसद्को लागि पार्टी सभापति बुद्ध लामासहित नेताहरु आनन्दराम पराजुली, प्रभातकुमार दाहाल, अशोक शाक्य, इश्वर पाठक, ताराप्रसाद चौलागाई, अर्जुनप्रसाद चौलागाई, होमनाथ गौतम, अञ्जना उपाध्याय र शर्मिला श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै समानुपातिकतर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, तारा राई कार्की, इन्दिरा न्यौपाने, शम्भु लामा, रमेश गिरी र निलम देवकोटाको नाम सिफारिस भएको छ । गठबन्धन हुँदा पनि यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने भएकोले दावेदारहरु बढी भएको कांग्रेस नेताहरुको भनाई छ । जिल्लास्थित प्रदेश क्षेत्र समितिहरुले भदौ १६ भित्र आकांक्षीहरुको नाम जिल्ला समितिमा सिफारिस गरिसक्नुपर्नेछ । प्रतिनिधिसभा क्षेत्रका समितिहरुले १८ गतेभित्र आकांक्षीहरुको नाम सिफारिस गरेपछि जिल्ला समितिले २० गते प्रदेश समितिमा पठाइसक्नुपर्ने बताइएको छ ।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ सभापति राजेश बानियाँको अध्यक्षतामा बैठक बसेको हो । हेटौंडा उपमहानगरपालिकाको १२ वटा वडा यस क्षेत्रमा पर्दछ ।  अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका अशोक शाक्यलाई हराउँदै नेकपा एमालेका डोरमणि पौडेल निर्वाचित भएका थिए ।janapatra

राजनीति समाचार समाज