चोलेन्द्रको बयान लम्बिने, समिति र संसदमाथि नै प्रश्‍न

 निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ। बिहीबार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो। 

आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन्। प्रधानन्यायधीशले न्यायसम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरूको भनाइ छ। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठकले भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको बताए। उनले प्रधानन्यायाधीशले अहिले आफ्नो हिसावबाट जवाफ दिइरहनुभएको र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निस्कर्ष निकाल्ने बताए। आगामी निर्वाचनको दिनसम्म समितिलाई समय रहेको उल्लेख गर्दै सकेसम्म चाँडै टुंग्याउने रणनीतिमा समिति रहेको बताए। 

उनले भने, ‘छिटो सक्नुपर्ने कुरा भयो । १९ गते ११ बजे बस्छ, उहाँसँग फेरि बयान लिने काम हुन्छ । उहाँले अहिले आफ्नो किसिमले जवाफ दिनुभएको छ। हामी सबै छिटो टुंगिनुपर्छ भन्ने सोचमा छौँ । मंसिर ४ गते निर्वाचन छ, त्यो बेलासम्म हामीलाई समय छ भन्ने सोचेका छौँ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरू लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताए।  प्रधानन्यायाधीशले व्यक्त गरेको शब्दहरूमा आपत्ति जनाउनु नहुने बताए। न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताए। 

उनले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताए। बुधवार बार, न्यायाधीशहरूमाथि आरोप लगाएको र आज संसद र सांसदहरूमाथि आरोप लगाउनुभएको स्पष्ट पारे। 

समाचार