सिट बाँडफाँटमा सहमति हुन्छ भन्ने स्पष्ट छैन : माधव नेपाल

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारूढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। 

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरू भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारेका हुन्। 

उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे। आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौं र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं’ उनले भने, ‘त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप। अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो।’पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ छ। चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए। 

‘अहिले हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छाैँ। यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ। हामीले सम्भव तुल्याउन चाहिरहेका छौं। त्यसो भएको हुनाले हामी तपाईँहरूबाट के आशा गर्छौं भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरू, मुक्ति संगठनका हाम्रा सबै नेताहरू, केन्द्रिय सदस्यहरू, तपाईंहरूले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरूलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस्’ उनले भने।

उनले दलित समूदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिए। 

मनोरञ्जन राजनीति