क्यानसँग सन्दीपले भने : निर्दोष छु, सिपिएल सकेर आउँछु

 नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। 

हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल)का लागि वेस्टइन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफू निर्दोष रहेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।

उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिए। फोन वार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा वरिष्ठ कानुन व्यवसायी खोजिदिन आग्रह गरेको बताए।

उनले यसबारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताए। 

उनले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताए। 

‘हिजो राति क्यानले नै सम्पर्क गर्‍यो। मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन भन्ने किसिमको कुरा गर्‍यो ।’ उनले भने, ‘क्यानले सहयोग गर्नुपर्‍यो। कानुनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ म सिपिएल म्याच सकेर फर्किन्छु भनेको छ । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या नभएको उसले बताएको छ।’ 

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधबार राति घटनाको बारेमा जानकारी लिएका थिए। जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ।

खेलकुद समाचार