लिग सकिएको ६ महिनापछि क्लबले पाए पुरस्कार

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको पुरस्कार क्लबहरूलाई दिएको छ।

विजेता भए पनि लामो समयदेखि पुरस्कार नपाएका सहिद स्मारक ए डिभिजन र बी डिभिजन क्लबहरूको उधारो पुरस्कार पाएका हुन्।

‘ए’ डिभिजन लिग सकिएको साढे ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि खेलाडीहरूले पुरस्कार पाए। एन्फाले ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ।

एन्फाले ‘ए’ डिभिजन लिगका १४ वटा क्ल्बसँगै उत्कृष्ट खेलाडी घोषित भएका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ र इमर्जिङ प्लेयर चुनिएका दिनेश हेन्जनलाई पनि पुरस्कार रकम दिएको हो। यसैगरी एन्फाले ‘बी’ डिभिजन लिगको पनि लिग विजेता, उपविजेतासँगै ‘म्यान अफ दि म्याच’ र व्यक्तिगत पुरस्कार प्रदान गर्‍यो।

एन्फाले पुरस्कारमा करकट्टी गरेर ए डिभिजनका क्लबहरूलाई कुल १ करोड ३१ लाख र बी डिभिजन क्लबलाई ५४ लाख ९२ हजार ५ सय रुपैयाँ पुरस्कार रकम प्रदान गरेको हो। यसअघि लिग सकिएको लामो समयसम्म पनि पुरस्कार नदिएको भन्दै एन्फाले चर्को आलोचना खेप्नु परेको थियो।

खेलकुद