हत्याको आरोपमा मकवानपुरकी सुस्मितासहित ३ जना पक्राउ

हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भइ काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान रहेको काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु मध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ भने स्याङतान भने दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा सङ्लग्न रहेको पाइएको छ ।उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरु विरुद्ध ‘मुलुकी अपराधसहिता २०७४को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

गएको ३ असोजमा गोठाटारमा मोहम्मदको गोली हानी हत्या भएको थियो । गोली लागेर गम्भीर घाइते भएका मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचाररतको क्रममा मृत्यु भएको थियो । मोहम्मद १० वर्ष जेल बसेर केहि वर्ष अघि मात्रै जेल बाट छुटेका थिए ।

समाचार समाज