बुधबारदेखि देशका केहि स्थानमा भारी वर्षा हुने 

आउँदो बुधबारदेखि देशका केहि स्थानमा भारी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । 
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभावले आउँदो बुधबारदेखि केहि स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाएको हो । 
महाशाखाका अनुसार विशेषगरी दसैंको टीकाको दिन आउँदो बुधवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । त्यस दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाहुनेछ । 
यसैगरी बिहीवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबारलाई भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । 
तीन दिन नै देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको पनि बुलेटिनमा उल्लेख छ । पानी परेसँगै बाढी र पहिरोको जोखिम पनि बढ्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् । 
सामान्यता नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएपनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने देखिएको छ ।

समाचार समाज